‘रोल नं १’ ले ल्यायो दर्शकका लागि रोचक स्किम

फिल्म । नेपाली फिल्म रोल नं १ ले दर्शकका लागि नयाँ स्किम सार्वजनिक गरेको छ । निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ अभियानअन्तर्गत भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो। निर्माण पक्षले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ शीर्षकमा भिडियो प्रतियोगिता सञ्चालन गर्दै सहभागीलाई नगद पुरस्कार जित्ने अवसर दिएको जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले फिल्म ‘रोल नं १’सँग जोडेर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत प्रस्तुत गर्नुपर्नेछ। भिडियोमा सहभागीले आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्माण टिमका अनुसार भिडियोमा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती, स्कुलका रमाइला सम्झना, सपना, लक्ष्य, संघर्ष र मेहनतजस्ता विषय समेट्न सकिनेछ।

भिडियो १ देखि ३ मिनेटभित्रको हुनुपर्नेछ। प्रस्तुति सिर्जनात्मक, स्पष्ट आवाजसहित छोटो, मिठो र भावुक हुनुपर्ने निर्माण टिमले जनाएको छ। सबै उमेर समूहका व्यक्तिले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। सहभागीले भिडियो टिकटक, फेसबुक वा इन्स्टाग्राममार्फत पोस्ट गर्न सक्नेछन्। भिडियो पोस्ट गर्दा निर्माण टिमले तोकेका आधिकारिक फेसबुक पेज वा टिकटक अकाउन्टलाई ट्याग गर्नुपर्नेछ। साथै, अनिवार्य रूपमा सम्बन्धित ह्यासट्यागहरू प्रयोग गर्नुपर्ने बताइएको छ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, २० जना सहभागीलाई सान्त्वना पुरस्कारस्वरूप ‘रोल नं १’को एक–एक वटा टिकट प्रदान गरिनेछ। विजेताको घोषणा जेठ २५ गते गरिने निर्माण पक्षले जनाएको छ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले समग्र जीवनमा पार्ने असरलाई फिल्ममा उठाइएको बताइएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिनेछन्।

कमेन्ट गर्नुहोस्