फिल्म । मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा यही भदौं २६, २७ र २८ गते तीन दिने प्राज्ञिक सम्मेलन आयोजना हुने भएको छ । ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’ नाम दिइएको कार्यक्रम राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । फिल्मसँग जोडिएको निर्माण, विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा यस क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल समेटिने छन् ।
कार्यक्रम हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा फिल्मको महत्वका विषयको ‘किनोट स्पीच’ पनि समेटिने छ। फिल्मकर्मी , फिल्मका विज्ञ, फिल्मको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली फिल्मका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल समेत आयोजित कन्फ्रेन्समा हुनेछ ।
सम्मेलनमा प्रस्तुत हुने विविध विषय, दृष्टिकोण, विचार, प्रस्तुतिकरण आदिले आम मानिसमा पार्ने प्रभावबारेको अध्ययन सँगै परिपक्व र कलात्मक फिल्म निर्माणको वातावरण बनाउन पनि सघाउने सम्मेलनका संयोजक तथा समीक्षक अनुप सुवेदीले बताए । नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ ।










