दर्शकले रुचाए अनमोलको ‘फर्की फर्की’ ट्रेलर

फिल्म । अनमोल केसी स्टारर ‘फर्की फर्की’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । गत विहिबार सार्वजनिक गरिएको ट्रेलरलाई युट्युबमा २० लाख भन्दा बढी पटक हेरिएको छ । धेरैपछि यूट्यूबमा कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई लिएर यो किसिमको उत्साह देखिएको हो । फिल्ममा अनमोल पुनः रमकम जनरामै फर्किएका छन् ।

ट्रेलरमा देखिएको उनको लुक्स, उच्च मेकिङ र अभिनय चर्चा भइरहेको छ । ‘टाइम लुप्स’ को कथामा तयार भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । उनले विश्वभर यस्ता जनरामा फिल्म बन्ने गरेता पनि नेपालमा भने पहिलो रहेको बताए ।

‘यस किसिमको फिल्म र दर्शक बाहिर छन् । हामीले बल्ल सुरुआत गर्दैछौँ । यसको कथा टाइम ट्राभल र लुप्समा तयार गरिएका फिल्म झैँ देखिए पनि प्रस्तुतीकरण फरक छ । यसलाई तयार गर्न कुनै सम्झौता गरिएको छैन’, निर्देशक गुरुङले ट्रेलर सार्वजनिक कार्यक्रममा भने ।

अनमोलले पनि दश वर्षे फिल्मी यात्रामा सिकेको अनुभवलाई प्रयोग गरेको बताए । ‘मैले यो दशकको यात्रामा धेरै कुराहरु सिकेको छु । यो मेरा लागि पनि निकै खास फिल्म छ’, अनमोलले भने ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा रोहित अधिकारीले फिल्मलाई निर्माण गरेका हुन् । उनले विना सम्झौता फिल्म तयार गरेको ट्रेलरबाटै देख्न सकिन्छ । ‘रमकम भएकाले हामीले यसलाई रोमान्टिक र बेस्ट सिनमा खिचेका छौँ । यो कलरफूल रोमान्टिक ड्रामा हो’, निर्माता अधिकारीले भने ।

ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल निर्माता, मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

फिल्म ‘फर्की फर्की’मा सुरेन्द्र पौडेलको सम्पादन छ भने रोमन न्यौपाने र नरेन लिम्बुको संगीत रहँदा छायांकन नरेन्द्र मैनालीको छ । सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ । प्रोडक्सन हेड शंकर पाण्डे हुन् ।

कमेन्ट गर्नुहोस्