फिल्म । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा यहि फिल्म मार्फत डेब्यु गरिरहेका नायक करण वर्मा आफ्नो सुगठित शरीर देखाएर एक्सन गर्दै देखिएका छन् । नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानासँगै अभिनेता बुद्दी तामाङ्गलाई पनि टिजर देख्न सकिन्छ । देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ मा अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा रहेको टिजरबाट अनुमान गर्न सकिन्छ । फिल्ममा बुद्दीले परमितासँग रोमान्स गरेका छन् । जय राज राय निर्माता रहेको यो फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् भने , यसमा पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।










