सङ्गीत। लोकदोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिएकाछन् । मंगलवार काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार भेटघाट आयोजना गर्दै महाधिवशेनमा अध्यक्ष लगायतका केही पदहरु सहमतीमा निर्विरोध चयन हुने विश्वास पनि अध्यक्ष बिजीले कार्यक्रममा व्यक्त गरे ।
देशभरीबाट २६ हजार १ सय १८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बिजीले भने,‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवशेन तीन दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुँगो लगाउने छौं ।’
कोरोनाको महामारी बीच पनि आफ्नो कार्यकालमा थुप्रै उत्कृष्ट कार्यहरु भएको पनि अध्यक्ष बिजीले बताए । प्रतिष्ठानले काठमाडौंको टोखामा आफ्नै पहलमा जग्गा खरिदगरि आफ्नो कार्यालय स्थापना गरेको पनि उनले जानकारी गराए,‘कार्यालयमा हामीले नव कलाकर्मी र प्रतिभाहरुलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छौं’, उनले भने ।
अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार प्रतिनिधिले मतदान गर्दै पदाधिकारी चयन गर्नेछन् । प्रतिष्ठानका महासचिव सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ । प्रतिष्ठानमा हाल २३ हजार ३ सय २२ जना साधारण सदस्य र २ हजार ७ सय ७३ र २३ जना आजीवन सदस्य रहेको पनि उनले बताए । यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार १ सय १८ जना कलाकार आबद्ध छन् ।










