फिल्म । गत साता सार्वजनिक भएका गीत मध्ये दर्शकको रोजाईमा फिल्म ‘ऊनको स्वीटर’ को दोस्रो गीत ‘मखमली’ परेको छ । यो गीत सार्वजनिक भएसँगै विभिन्न देशको युट्युबमा ट्रेन्डिङमा पर्न सफल भएको छ । यसकारण पनि दर्शकले फिल्मको प्रतीक्षा गरिरहेको सहजै अनुमान लगाउन सकिन्छ । म्युजिक भिडियोमार्फत आफ्नो छुटै पहिचान बनाएका निर्देशक नवीन चौहानको डेब्यु निर्देशन भएका कारण पनि यो फिल्म प्रतिक्षित छ ।
नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरिएको कारण दर्शकको आकर्षण गीतमा बढ्दो छ । ‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।
यसमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
गत साता नै शनिवार सार्वजनिक भएको फिल्म ‘कार्साङ’को हतार हतारमा खिचिएको गीत ‘सात भन्ज्याङ’ तुलनात्मक रुपमा कम्जोर देखिएको छ । दयाहाङ राईसहितका कलाकारको अभिनय रहेता पनि गीत ट्रेन्डिङमा नपर्नु र भ्युज पनि न्यून हुनुले दर्शकको आकर्षण नरहेको प्रस्ट्याउछ । यम शेर्पाको डेब्यु निर्देशन रहेको फिल्मको गीत केही दिन अगाडि मात्र निर्माण पक्षले छायांकन गरेको थियो । सार्वजनिक सामग्रीले चर्चामा ल्यान नसकेपछि गीतसङ्गीतको सहारा लिएता पनि त्यसले पनि सफलता दिन सकेको छैन ।
यद्यपि प्रदर्शन नभई फिल्मको सफलता वा असफलता बारे भन्न सकिन्न । तर, सार्वजनिक सामग्रीले पाउने चर्चा र दर्शक प्रतिक्रियाकै आधारमा हलले शो दिने गर्छन् ।