फिल्म । निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भइरहेको फिल्म ‘पीआर’ को दोस्रो चरणको छायांकन कास्की जिल्लाको रमणीय धम्पुसबाट सुरु भएको छ । यसअघि फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा सम्पन्न भएको थियो । निर्माण टोलीले सोमबार धम्पुसमा एक महत्वपूर्ण दृश्य छायांकन गरेको छ । उक्त दृश्यमा अभिनेता दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल र बिनिता कार्कीलाई वैवाहिक कार्यक्रममा सँगै देख्न सकिन्छ ।
निर्देशक बस्नेतले पूर्वनिर्धारित तालिका अनुसार नै ६० प्रतिशत छायांकन अष्ट्रेलियामा र बाँकी नेपालका विभिन्न रमणीय स्थानमा गरिने जानकारी दिए । हाल धम्पुसमा छायांकन भइरहेको र आगामी दिनमा पोखरा, चितवन लगायतका स्थानमा पनि दृश्यहरू कैद गरिने उनले बताए ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भइरहेको ‘पीआर’ मा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
यसको निर्मातामा प्रदीप दाहाल र लक्ष्मण सापकोटा रहेका छन् । फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।
यसमा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) को छायांकन रहनेछ भने बन्दे प्रसादले सम्पादनको जिम्मा लिएका छन् । रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ मुख्य सहायक निर्देशकको रूपमा कार्यरत छन् भने केवल मान सिंह बस्नेत निर्माण व्यवस्थापक रहेका छन् ।










