कसरी भयो ‘जारी’ पाइरेसी ?

फिल्म । कार्यकारी निर्माता मणिराम पोखरेलले प्रदर्शनरत फिल्म ‘जारी’ पाइरेसी भएपछि अनुसन्धानका लागि उजुरी दिएका छन् । उनले प्रहरी प्रधान कार्यलयको साइबर ब्युरोमा उजुरी दिँदै वैशाख १ गतेबाट प्रदर्शन भएको फिल्म सामाजिक सञ्जालका विभिन्न माध्यममा सार्वजनिक भएको र यसले निर्मातालाई लाखौँको आर्थिक क्षति भएको उल्लेख गरेका छन् । वर्षको पहिलो दिनदेखि प्रदर्शनमा आएको फिल्म टिकटक, फेसबुक, इन्स्टा, युट्युब चारैतिर उपलब्ध छ । यसअघि पनि दर्शकले रुचाएका फिल्म यसैगरी टिकटकमा सार्वजनिक हुने गरेका थिए ।

‘रमाइलोका लागि वा नियतवश खिचिएका दृश्य सामाजिक सञ्जालबाट नहटाए कारवाहीमा पर्नु हुनेछ”, निर्माता पोखरेलले भने । उपेन्द्र सुब्बा निर्देशितले आक्रामक व्यापार गर्नुका साथै दर्शक प्रतिक्रिया पनि सकारात्मक पाएको छ। समीक्षकहरुले समेत फिल्मको तारिफ गरेका छन् ।फिल्मले लिम्बू संस्कारमा रहेको जारी प्रथालाई मियो बनाएर श्रीमान्-श्रीमतीबीचको सुन्दर प्रेमकथा बुनेको छ । फिल्मको पटकथा र संवाद सशक्त छ ।

‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट लेखनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उपेन्द्र सुब्बाले ‘जारी’बाट निर्देशनमा पनि राम्रो सम्भावना देखाएका छन् । उनले लिम्बू समुदायको परम्परा, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषालाई कथामा गाँसेर सानदार ढंगले प्रस्तुत गरेका छन् । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय छ ।फिल्मले तीन दिनमा पाँच करोड बढीको ग्रस कलेक्सन गरेको छ ।

कमेन्ट गर्नुहोस्