प्रेम र सम्झौताको कथामा ‘साईनो’ (भिडियो)

90 Shares

फिल्म । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साईनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ । फिल्मले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने जानकारी गराइयो ।

सम्झौता र प्रेमसंगै मानव बेचबिखनलाई समेत समेटिएको फिल्मको कथा अभिनेत्री मिरुना मगर, नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको वरिपरि घुमेको छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । ‘साईनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । ‘हामीले यसमा माया र त्यसमा गरिने सम्झौताको कथालाई समेटेका छौ’ निर्देशक रमेश थापाले भने । उनले फिल्म मार्फत एउटा गाउँले कथा भन्ने प्रयास गरेको बताए ।

फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

Facebook Comments