फिल्म । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को प्रचारप्रसारलाई तीव्र पारिएको छ। फिल्मको प्रचारप्रसारस्वरूप आइतबार २५० भन्दा बढी साइकल यात्रीले किर्तिपुरदेखि कपनस्थित क्लब मण्डलासम्म र्याली निकालेका छन्।
साइकल यात्रीले फिल्मको टिसर्ट लगाएर र्यालीमा सहभागिता जनाएका थिए। प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ फिल्मको प्रचारलाई व्यापक बनाउन र्याली आयोजना गरिएको निर्देशक विनयराज पौडेलले बताए।
‘प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ फिल्मलाई पुर्याउन यो कार्यक्रम आयोजना गरेका हौँ’, निर्देशक पौडेलले भने। र्यालीमा अभिनेत्री न्यान्सी खड्का, अभिनेता पुष्कर राउतसहित फिल्मका निर्माता तथा निर्माण पक्षको सहभागिता थियो ।
युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको फिल्म ‘अक्षरा’ सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। २ घण्टा १४ मिनेट लामो फिल्मले छोरीले सुख पाउने आशामा चिन्दै नचिनेको धनी परिवारको केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायतका कलाकारको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन्।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्।
फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दिपेन बस्न्यातले छायांकन गरेका छन् भने सम्पादन गौतम खड्काले गरेका हुन्। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्मको नेपाल वितरणको जिम्मा लिएका छन्। फिल्मको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।











