अनमोल अभिनित ‘बाटुलो जून’ को टिजर सार्वजनिक

फिल्म । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यले पहिलो प्रचार सामग्रीका रूपमा टिजर सार्वजनिक गरेको हो।

टिजरमा फिल्मको परिवेश र कथाका विभिन्न आयामको झलक प्रस्तुत गरिएको छ। कथाबारे पूर्ण जानकारी नदिई टिजरले दर्शकमा कौतूहलता सिर्जना गर्ने शैली अपनाएको छ। फिल्मका केही क्यान्डिड सटलाई समेत टिजरमा समेटिएको छ।

‘बाटुलो जून’ ३० को दशकको परिवेशमा आधारित प्रेमकथामा निर्माण भएको फिल्म हो। आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई फिल्ममा प्रस्तुत गरिएको छ।

अहिलेको प्रविधिमैत्री युग र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, तत्कालीन समयको प्रेम र सामाजिक परिवेशलाई कथामा समेटिएको निर्माणपक्षले जनाएको छ। फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन्। यसअघि उनले निर्देशित फिल्म ‘ड्रिम्स’मा उत्तरआधुनिक प्रेमकथा प्रस्तुत गरेका थिए। ‘बाटुलो जून’मा भने उनी त्यसअघिको समयको प्रेमकथातर्फ फर्किएका छन्। यही समय नेपाली फिल्ममा भुवन केसी स्वयं पर्दामा देखिने लोकप्रिय अभिनेता थिए।

‘बाटुलो जून’ पुरानो समयको कथा मात्र नभएर आफ्नो सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक भुवन केसीले बताएका छन्। आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही परिवेशलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरिएको उनको भनाइ छ।

फिल्ममा अनमोल केसीले मुख्य भूमिका निर्वाह गरेका छन् भने निर्देशक भुवन केसी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। प्रिन्सी खतिवडाले यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी छन्। बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही फिल्मबाट अभिनयमा पुनरागमन गरेकी छन्।

फिल्मलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।

कमेन्ट गर्नुहोस्