फिल्म । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता २०७६’ सम्पन्न भएको छ । प्रतियोगितामा प्रशुन सिन्धुलियाले निर्माण गरेको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ । यस्तै, पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त अधिकारी निर्देशित ‘लक्ष्य’ तृतीय भए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिएको फिल्मका निर्माता सिन्धुलियालाई दुई लाख रूपैयाँ नगद तथा प्रमणपत्र प्रदान गरे ।
यस्तै, दोस्रो र तृतीय हुने चलचित्रले क्रमश एक लाख ५० हजार र एक लाख नगद रूपैयाँ र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिलकुमार महर्जनको ‘गौरव’ नामक लघु चलचित्र सान्त्वना घोषित भए। समारोहमा सान्त्वना स्थान प्राप्त गर्नेलाई २५-२५ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २०६७ देखि यो प्रतियोगिता गर्दै आएको छ ।











