‘म अर्जुन रेड्डी रीमेकको हिस्सा होइन’

फिल्म । नयाँ टिम अनि नयाँ कन्सेप्ट ‘सन्की डाक्टरको प्रेम कथा’मा बनेको फिल्म ‘अर्जुन रेड्डी’ लाई दर्शकले धेरै रुचाए । सन्दीप वांगा रेड्डीको निर्देशनमा निर्मित फिल्मले तेलगु भाषामा मात्र नभई बलिउडमा समेत धमाल मचायो । शाहिद कपूरको ढल्दो करियरलाई माथि ल्याएर स्टारडम बढाउने काम गर्यो । बलिउडमा ‘कबिर सिंह’ बनिसकेपछि तामिलमा पनि फिल्म ‘आदित्य वर्मा’ आइसकेको छ । यसै फिल्म मार्फत चियान विक्रमका छोरा ध्रुव विक्रमले डेब्यु गरेकाछन् । अब यो नेपाली भाषामा पनि बन्ने भएको छ ।

नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले ‘अर्जुन रेड्डी’ लाई नेपालीमा बनाउने अधिकार खरिद गरेकोछ । नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिईसकेका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपालमा फिल्म बन्ने चर्चा भएसंगै यसमा कसले अभिनय गर्लान त ? भन्ने चर्चा सुरु भएको छ । चर्चासंगै आर्यन सिग्देलको नाम अगाडी आएको छ । फिल्मकर्मी तथा पत्रकारले पनि आर्यन सिग्देलले उक्त भूमिकालाई जीवन्त बनाउन सक्ने अड्कल गरेका छन् । यसै बीच आर्यनले फिल्म गर्दैछन् भन्ने हल्ला पनि नचलेको हैन । यसै बीच आइरहेको हल्लामा सत्यता नरहेको आर्यन स्वयमले प्रस्ट्याएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफुसंग कुनै छलफल नभएको र फिल्म गर्न लागेको खबरमा सत्यता नरहेको प्रस्ट्याएका हुन् ।

‘म अर्जुन रेड्डी रीमेकको हिस्सा छैन , यो स्पष्ट पार्न चाहन्छु’ उनि लेख्छन् ,’त्यसबारेमा कुनै छलफल भएको छैन ।’ उनले अर्जुन रेड्डी राम्रो फिल्म भएकोले टिमलाई शुभकामना दिए । यद्दपी अर्जुन रेड्डीको नेपालमा रिमेक बन्ने चर्चा चलेको धेरै भइसकेको छ । साउथमा अर्जुन रेड्डी हिट हुदै गर्दा यसलाई नेपालमा बनाउने प्रस्ताव विशाल सापकोटाले ल्याएका थिए । ‘कबिर सिंह’ बन्नु अगाडी नै उनले आर्यनलाई लिएर फिल्म बनाउने पहल नगरेका हैनन् तर विविध कारणले प्रोजेक्ट अगाडी बढ्न सकेन । यसैले पनि यतिबेला ‘अर्जुन रेड्डी’ को रिमेकको चर्चा हुँदा आर्यनको नाम अगाडी आउनु स्वाभाविक नै हो ।

कमेन्ट गर्नुहोस्