‘कमेडी च्याम्पियन सिजन ३’ फागुनमा

टिभी । हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ । बुधबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजन विच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कार्यक्रम प्रशारणको घोषणा भएको हो ।

यस पटक कमेडि च्याम्पियनले आफ्नो कार्यक्रममा थोरै परिवर्तन ल्याएको कार्यक्रम निर्देशक भण्डारीले जानकारी दिए । अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन्। अर्थात अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाईएको छ भने यसपछि उत्कृष्ट १५ को सट्टा उत्कृष्ट १६ को छनौट हुने भएको छ । अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले जानकारी गराए ।

प्रसारण संस्था कान्तिपुर टेलिभिजनको प्रतिनिधित्व गर्दै सुरजसिंह ठकुरीले हाँस्यव्यङ्ग्य कार्यक्रममा गरिने सेन्सरसिपमा आफू केही हदसम्म गम्भिर र कार्यक्रमको प्रकृती दुवैलाई सन्तुलन गरेर अगाडि बढ्नेमा विश्वास दिलाए । तेस्रो सीजनमा उमेरको हिसाबले ११ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मसहभागी रहेको बताईएको छ ।

डिजिटल पार्टनर ओएसआर रियालिटिमा फागुन ३ गतेबाट प्रसारणमा आउन लागेको यस हाँस्य रियालिटी शो को मार्केटिङको जिम्मा मिडिया एजेन्सी एडि रिलिजले लिएको छ । कार्यक्रम हप्तामा २ दिन विहीबार र शुक्रबार बेलुका ९ बजे बाट प्रसारणमा आउनेछ ।

यस सिजनमा जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

कमेन्ट गर्नुहोस्