फिल्म । गएको शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘माग्ने राजा’ले दर्शकको साथ पाएको छ । शुक्रबार बिहान औसत दर्शक पाएको फिल्मले मध्यान्हदेखि हाउसफुलको लय समातेको थियो । शनिबार बिहानैदेखि हलहरूमा हाउसफुल व्यापार गर्न सफल भएको यो फिल्मले दर्शकको मन जितिरहेको छ । निर्देशक ऋषि लामिछाने कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
हलमा पुग्दा दर्शकले फिल्मको सन्देश र मनोरञ्जनको तारिफ गरेका छन् । केदार घिमिरेप्रति दर्शकको उत्साह देखिन्छ, कतिपयले ‘माग्ने राजा’ भन्दै नाराबाजी गर्दै उनलाई जुरुक्कै बोकेका छन् । केदारले दर्शकको यस्तो मायाले आफूलाई उत्साहित बनाएको र आगामी दिनमा अझ राम्रो फिल्म बनाउने चुनौती थपिएको बताए ।
वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ले बलियो सुरुवाती व्यापार गरेको छ । पहिलो श्रेणीका हलमा मात्र नभई चाडपर्वमा हाउसफुल हुने हलहरूमा समेत यो फिल्मले उत्कृष्ट व्यापार गरेको उनले बताए । तीजको मुख्य बिदा बाँकी रहेकाले फिल्मले थप आकर्षक कमाइ गर्ने उनको अपेक्षा छ ।
निर्देशक लामिछानेले पनि तीजपछि दर्शकको संख्या थप बढ्ने विश्वास व्यक्त गरे । ‘मुखैमा तीज रहेकाले महिला दर्शक हलमा कम आएको अनुभव छ । परिवारसहित हेर्न मिल्ने यो फिल्म तीजपछि थप पारिवारिक माहोलमा हेरिनेछ’, उनले भने । मुनाल घिमिरेद्वारा निर्मित यो फिल्मले मनोरञ्जन र सन्देशको सन्तुलित प्रस्तुति गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् ।












