फिल्म । यतिबेला कोरोना भाइरस (कोभिड १९) ले सारा विश्वलाई ‘लकडाउन’ मा पारेको छ । प्राय देशमा र अधिकांस देशका सहरमा ‘लकडाउन’ छ । सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले यस्तो गरिएको हो । कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । तर , यहाँ संक्रमण पहिलो चरणमा रहेकोले यसलाई फैलिन नदिन नेपाल सरकारले ‘लकडाउन’ गरिरहेको छ । यसकारण धेरै श्रमिक पारमा परेका छन् । फिल्म क्षेत्रको कुरा गर्ने हो भने दैनिक ज्यालामा काम गर्ने मजदुरलाई प्रभाव परेको छ । यसलाई मध्यनजर गर्दै अभिनेता पल शाहले नगद सहयोग गरेका छन् ।
फिल्ममा मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुलाई आर्थिक संकट परेकाहरुको लागि पलले नगद रु ५ लाख सहयोग गर्न लागेको घोषणा गरेका छन् । ‘लकडाउन’ पछि फिल्म प्राविधिकहरुलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक संघले फिल्मकर्मीसँग सहयोगको अपिल गरेको थियो । शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेपछी यतिबेला फिल्मकर्मीहरु सहयोगमा जुटिरहेका छन् ।
‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ पलले लेखेका छन् । यो सहयोग वितरण कार्यमा उनले चलचित्र प्राविधिक संघसँग सहयोगको अपेक्षा राखेका छन् । आर्थिक अवस्था कमजोर भएका फिल्म क्षेत्रमा सक्रिय सबैको साथमा आफू रहको पनि उनले उल्लेख गरेका छन् ।










