फिल्म । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर नेपाली चलचित्र ‘मोदीबेनी’ तयार गरिएको निर्देशक शङ्कर कोइरालाले बताएका छन् । हालै चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्देशक कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताए । ‘पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा चलचित्रलाई तयार छौँ । यसले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई दर्शाउँछ’, उनले भने ।
चलचित्रमा अभिनेता सरोज खनाल,अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नव अभिनेता अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।
अभिनेता खनालले चलचित्रको विषयवस्तुले ग्रामिण तथ्य र घटनाक्रमलाई समेटेको बताए । उनले भने,‘नयाँ समूह भएता पनि काम राम्रो भएको छ । हाम्रो ग्रामिण जीवनको सौन्दर्यलाई यसमा देखाईएको छ । यसमा जोडिएर काम गर्न पाएकोमा उत्साहित छु ।’
अभिनेत्री सिवाकोटीले चलचित्र हेरिरहँदा आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै चलचित्रबाट आफूले निकै आशा बोकेको बताए । ‘यसको कथा सशक्त बनेको छ । चलचित्र हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो लाग्छ । मेरो लागि यो चलचित्र लक्की सावित भएको छ, यसमा काम गरेपछि छक्का पञ्जामा जोडिए । चलचित्र भवनसम्म आउनु हुने दर्शकलाई यसले निराश बनाउँदैन’, उनले भने ।
साउन १८ गते प्रदर्शन तय गरिएको चलचित्र ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको व्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन, एसडी योगी र शान भुसालले सङ्गीत भरेका छन् ।











