फिल्म । फिल्मीक्षेत्रकै जेठो सस्थाको रुपमा परिचित चलचित्र संघमा मधुसुधन प्रधानको नेतृत्व आएको छ । अर्थात हल सञ्चालक तथा वितरतकहरुको साझा संस्था नेपाल चलचित्र संघको ४६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्विरोध रुपमा प्रधान चयन भएका हुन् । शुक्रबार राजधानीमा सम्पन्न चुनावी साधारणसभाले प्रधानसँगै १३ जना सदस्यलाई निर्विरोध रुपमा चयन गरेको हो । निर्विरोध चयन हुने सदस्यहरुमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुङ्गाना, अर्जुन श्रेष्ठ, गोविन्द बहादुर शाही, कपिलप्रसाद द्वा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्की, कैलाश कटुवाल, त्रिरत्न मानन्धर, निरज गुप्ता छन् ।

यसै मध्यबाट संघको पहिलो बैठकले हाल चुनिएका सदस्यहरुबाट सहमतिमा कार्य विभाजन गर्नेछ । यस्तै पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा. सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन भएका छन् । प्रदिपकुमार उदय नेतृत्वको अघिल्लो कार्यसमितिमा द्वितिय उपाध्यक्ष रहेका प्रधान सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । नेतृत्वको लागी प्रथम उपाध्यक्ष रहेका विरेन्द्र नारायण श्रेष्ठ र प्रधानको चर्चा थियो । तर कार्यक्रममा उपस्थित तीन पुर्व अध्यक्षहरुको पहलमा दुबै जनाले तीन वर्षको कार्यकाल (आधा-आधा) आलोपालो गरी पुरा गर्ने सहमति भएपछि पहिलो डेढ वर्षलाई प्रधान अध्यक्ष चुनिए । उनले अबको डेढ वर्षपछि नेतृत्व श्रेष्ठलाई प्रदान गर्नेछन् ।

आयोजित साधारणसभालाइ सञ्चारमन्त्री गोकुल बांस्कोटाले उद्घाटन गरेका थिए । निवर्तमान अध्यक्ष उदयको अध्यक्षतामा भएको साधारणसभामा मन्त्री बाँस्कोटा प्रमुख अतिथि रहेका थिए भने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिका मेयर विधासुन्दर शाक्य लगायत फिल्मसँग सम्वद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्णले चलचित्र संघले सम्पूर्ण संघ संस्थालाई मिलाएर अगाडी बढेमा यसक्षेत्रमा प्रगति गर्नेमा जोड दिएका थिए ।


