फिल्म । मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुति रहेको फिल्म ‘दाल भात तरकारी’ को सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’ लाई दर्शकले रुचाएका छन । गत जनवरी २४ मा सार्वजनिक भएको गीतलाई मार्च ९ सम्म आइपुग्दा एक करोड भन्दा बढी पटक हेरिएको छ । मह सञ्चारकै युट्युब च्यानल मार्फत अपलोड गरिएको गीतलाई कमेन्टस पनि सकारात्मक प्राप्त भएको छ ।
‘दर्शकको माया प्रति हामी आभारी छौ’ प्रस्तुतकर्ता किरण केसीले भने ‘हामीलाई गर्नु भएको विश्वास र मायालाई आउँदो दिनमा पनि बचाउने छौ ।’ केहि दिन भित्र शिर्ष गीत सार्वजनिक गर्ने सोचमा टिम रहेको समेत उनले बताए । फ्यामिली अडियन्सको मन जित्दै आएको टिमले ट्रेलर भने चैत्रको दोस्रो साता सार्वजनिक गर्ने योजनामा छन् । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् भने यसलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भइनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ ।
शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । गीतलाई हरिवंशले नै रचना गरेका हुन् भने यसमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौतानगरी तयार गरिएको छ । सुदन केसीको डेब्यु निर्देशनमा तयार भइरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।












