विदेश । बेलायतमा नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ।
सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनास यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा चर्चित गायिका मेलिना राई, ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का उपविजेता गायक रोशन राई, गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा अभिनेत्री रजनी गुरुङलगायत कलाकारको प्रस्तुति रहनेछ।
विशेषगरी कोच र कन्टेस्टेन्टका रूपमा चर्चित मेलिना राई र रोशन राई एउटै मञ्चमा प्रस्तुत हुने भएकाले कार्यक्रम थप आकर्षणको केन्द्र बन्ने आयोजकको अपेक्षा छ।
कार्यक्रमलाई सुशील नेपालले सञ्चालन गर्नेछन् भने नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि कार्यक्रमका आयोजकमा रहेका छन्।
सांगीतिक कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी र रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।
नेपाली संगीत, कला र संस्कृतिलाई बेलायतमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुम्निमा साँझ’ले बेलायतमा रहेका नेपाली दर्शक–श्रोतामाझ विशेष सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।











