फिल्म । नेपाली फिल्म ‘आचार्य’ शुक्रबारदेखि नेपाल तथा विदेशका विभिन्न हलमा प्रदर्शनमा आएको छ। निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मले भारी वर्षाका बीच पहिलो शोबाट प्रदर्शन यात्रा सुरु गरेको हो।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि वर्षा भएका कारण पहिलो शोमा दर्शकको उपस्थिति अपेक्षाकृत औसत देखिएको छ। वर्षाका कारण बिहानका शोमा दर्शकलाई हलसम्म पुग्न असहज भएको बताइएको छ।
‘आचार्य’ले प्रदर्शनअघि नै ठूलो संख्यामा शो पाएको थियो। सेन्सर पासमा भएको ढिलाइका कारण बुकिङ खुलाउन केही समय लागे पनि बिहीबार बिहानदेखि फिल्मको बुकिङ खुलाइएको थियो।
शुक्रबार नेपालका हलमा यसअघि प्रदर्शनमा आइसकेका तथा शुक्रबारदेखि प्रदर्शनमा आएका नेपाली र विदेशी गरी १२ वटा फिल्म प्रदर्शनमा छन्। खल्ती एपमा सर्वाधिक ९६ शोबाट बुकिङ खुलाएको ‘आचार्य’को देशभरका हलमा कुल १३७ शो रहेको वितरक मनोज राठीले बताएका छन्।
फिल्मले पाएको ठूलो शो संख्या र ट्रेलरले बनाएको चर्चाका कारण ‘आचार्य’प्रति दर्शकको चासो देखिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्म नेपालमा ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुगेको थियो।
निखिल उप्रेतीको एक्सन अवतार, फिल्मको प्रस्तुति तथा प्राविधिक पक्षलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक तथा मिश्रित प्रतिक्रिया आइरहेका छन्। मौसमका कारण पहिलो शो केही प्रभावित भए पनि दिन चढ्दै जाँदा दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।
निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको ‘आचार्य’ होम प्रोडक्सनमा निर्माण भएको फिल्म हो। फिल्म आजदेखि नेपाल तथा विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ।











