‘ह्रस्व दीर्घ’ : दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’

फिल्म । गत शुक्रबार कात्तिक ३० गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ को सुखद सुरुआत भएको छ । शुक्रबार र शनिवार फिल्म हेर्न दर्शकको राम्रो चाँप हलमा देखिएको छ । अधिकाँस हल हाउसफुल छन् भने केहीमा उच्च अकुपेन्सी छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको फिल्म हेर्न दर्शक सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म उपस्थित भएका हुन् ।

नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको फिल्मले देशभर एक सय ५० बढि शो पाएको छ । दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन । उनले भनिन्,‘हामी काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेका छौं । उहाँहरूले नै अब हाम्रो फिल्मको प्रचार गर्नुहुनेमा मसहित सम्पूर्ण टीम विश्वस्त छौं । दर्शकलाई एउटा उत्कृष्ट फिल्म दिने हाम्रो सपना आजबाट पूर्ण भएको छ, हामी प्रतिक्रिया लिन अधैर्य छौं ।’

पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्केको निर्माण पक्षको दाबी छ । अभिनेत्री ढुंगानाले फिल्मले आक्रामक व्यापार गर्दा पनि शो नथपिएको गुनासो गरिरहेकी छन् ।

शनिबार पनि काठमाडौं उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका हलमा दर्शकप्रतिक्रिया बुझ्न पुगेपछि नीताले यस्तो बताएकी हुन् । लेखक तथा अभिनेता हरिहर अधिकारीले काठमाडौं उपत्यकामा मात्रै नभई, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक बिर्तामोड र धनगढी लगमायतमा सहरमा फिल्मले आक्रामक व्यापार गरेको बताए ।

नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्टका कारण दर्शक माँझ प्रतिक्षित थियो । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्