स्वस्तिमाको प्रश्न , स्वस्तिमाकै जवाफ (भिडियो)

फिल्म । पछिल्लो सम रेगुलर शैलीको तुलनामा फिल्म ‘बुलबुल’ को प्रचारप्रसार फरक देखिएको छ । एक गीत र दुई टिजर सार्वजनिक गरिसकेको टिमले फरक शैली अपनाउदै प्रचारप्रसार अगाडी बढाईरहेको छ । फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा फिल्मका धेरै दृश्य देखाउनुको साटो एउटै दृश्यबाट फिल्मका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरेको थियो ।

यही दुई टिजरबाट मुकुन भुषाल चोपेन्द्रको रुपमा दर्शकमाझ परिचित भएका छन् । आइतबार प्रचारको सोही शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै फिल्ममा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले फिल्ममा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए । ‘चोपेन्द्रपछी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,’पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

‘साँघुरो’ फिल्मका लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्