फिल्म । नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) आफ्नो दुईवर्षे कार्यकाल पूरा गरेर बोर्डबाट विदा भएका छन् । बिहिबार आयोजित एक कार्यक्रमबीच बोर्डका सदस्य-सचिव सविन सिंह चौधरी, बोर्ड सदस्य सन्तोषबाबु लोहनी तथा कर्मचारीहरूले मायाको चिनो प्रदान गर्दै उनलाई विदाइ गरेका हुन् । दाहाल बोर्डका १२औँ अध्यक्ष हुन्।
विसं २०८१ भदौ १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । त्यतिबेला उनी एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसमेत थिए । तत्कालीन प्रधानमन्त्री ओलीसँगको निकट सम्बन्धका कारण उनले बोर्ड अध्यक्षको जिम्मेवारी पाएको चर्चा भएको थियो । यद्यपि, उनको दुईवर्षे कार्यकाललाई तुलनात्मक रूपमा सफल मानिएको छ ।
बोर्ड अध्यक्षमा नियुक्त भएयता उनले विभिन्न गतिविधिमार्फत बोर्डलाई चलायमान बनाएका थिए । साप्ताहिक रूपमा रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था, फिल्मकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम, बोर्डका कामको डिजिटलाइजेसन, ‘स्टोरी बैंक’ स्थापना तथा २५ वर्षमा सबैभन्दा धेरै कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्नेलगायतका काम उनको कार्यकालका महत्वपूर्ण उपलब्धि मानिन्छन् ।
दाहाल बोर्डबाट विदा भएसँगै नयाँ अध्यक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट फिल्मकर्मीहरूले लबिङ सुरु गरिसकेको बताइएको छ । यता, दिनेशले पनि पुनः अध्यक्ष बन्ने इच्छा देखाएको निकट स्रोतको दाबी छ । बोर्डको तालुकवाला निकाय सञ्चार मन्त्रालयले आवेदन आह्वान गरेपछि मन्त्रिपरिषद्को बैठकबाट अध्यक्ष नियुक्त हुने प्रावधान छ ।











