सङ्गीत । भारतीय गायक विशाल मिश्राले नेपालको विपद्मा सहयोग गर्ने उद्देश्यले नेपाल र आसाममा च्यारिटी कन्सर्ट गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाल र आसाममा कन्सर्ट गर्ने र त्यसबाट प्राप्त सम्पूर्ण रकम बाढी प्रभावितको राहतमा खर्च गर्ने बताएका हुन् ।
‘नेपालमा भइरहेको घटनाले मेरो मन भारी भएको छ। त्यसैले मैले एउटा निर्णय गरेको छु। म नेपाल र आसाममा कन्सर्ट गर्नेछु। हरेक एक पैसा बाढी राहत र प्रभावित मानिसका लागि जानेछ,’ उनले लेखेका छन् ।
उनले कन्सर्टको औपचारिक घोषणा चाँडै गरिने जानकारीसमेत दिएका छन् । यसअघि उनले ‘स्टे स्ट्रङ’ भन्दै नेपालका बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै आफूले व्यक्तिगत रूपमा सक्दो सहयोग गर्ने बताएका थिए ।
गायक मिश्राका नेपालमा पनि धेरै प्रशंसक छन् । उनलाई कन्सर्टका लागि नेपाल ल्याउने प्रयास यसअघि पनि भएको थियो । तर, उक्त प्रयास सफल हुन सकेको थिएन ।
मिश्राका ‘पहिले भी मैं’, ‘कैसे हुआ’, ‘तेरी होगइया’, ‘जान बन गए’, ‘दिल झूम’, ‘तू भी सताया जाएगा’, ‘सजना वे’, ‘जिहाल-ए-मस्कीन’, ‘तुम हो तो’ र ‘जानम’ लगायत गीत लोकप्रिय छन् ।











