
फिल्म । रोमान्टिक हिरोको लिस्टमा अनमोल केसीको नाम अग्रपंक्तिमामा आउँछ । डेब्यु फिल्म ‘होस्टेल’ देखि नै उनको स्टारडम बन्यो । उनको अभिनय क्षमताको जति नै आलोचना भएपनि उनलाई हेर्न हलसम्म दर्शक आए । अर्थात् अनमोल ‘ह्यान्डसम’ हिरो हुन् । तर, उनको जीवनशैली अन्य कलाकार जस्तो छैन । उनी क्लब जादैनन्, सार्वजनिक स्थानमा निकै कम भेटिन्छन् ।
उनकै सामाजिक सञ्जाललाई नियाल्ने हो भने उनी धार्मिकस्थलमा डुल्न बढी रुचाउछन् । यिनै अनमोलले आफ्नो जीवनसाथीको विषयमा बोलेका छन् । सञ्चारकर्मी नरेश भट्टराईको कार्यक्रम ‘मेरो एउटा साथी छ’ मा कुराकानी गर्दै उनले आफूलाई अनमोल केसीको रुपमा नभई पर्दा बाहिरको अनमोल बुझ्ने जीवनसाथीको पर्खाइमा रहेको बताए ।
‘म रियलमा जे छु त्यसमा बुझ्ने हुनुपर्छ । मेरो परिवारलाई रेस्पेक्ट गर्ने र परिवारले पनि स्वीकार्ने हुनुपर्छ । मेरो बाहिरी स्टारडमको प्रभावमा नभई सरलता बुझेको पाएँ भने जीवनसाथी बनाउन ढिला गर्दिन’, अनमोलले भने ।
उनले आफ्नो आम्दानीबाट पारिवारिक दायित्व, सामाजिक दायित्व बहन गर्नुका साथै भविष्यका लागि बचत पनि गरिरहेको बताएका छन् । ‘म कसैलाई सहयोग गरेको विषयलाई चर्चामा ल्याउन रुचाउदीन । मैले आफ्नो नजिकको चिनो र सहयोग गर्न सक्नेलाई गरिरहेकै हुन्छु’, अनमोलले भने ।
अनमोल अभिनित दसौँ फिल्म ‘फर्की फर्की’ अहिले नेपालसँगै विश्वभर प्रदर्शनरत छ । पछिल्लो फिल्म ‘छड्के २’ बाट असफलता भोगेका अनमोल पुनः लयमा फर्किएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गरका हुन् ।

