चपली हाइट ३ : क्राइम थ्रिलर

13 Shares

फिल्म । पछिल्लो समय नेपाली फिल्ममा सिरिज र सिक्वेलको चाप बढ्दो छ । यसैक्रममा थपिएको छ ‘चपली हाइट’ को नयाँ सिरिज । दुइ सिरिजलाई दर्शक समक्ष पुर्याईसकेको टिमले नयाँ सिरिजको घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको ‘चपली हाइट’ लाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

अर्जुन कुमारको निर्माण रहने फिल्ममा आमिर गौतम , स्वस्तिमा खड्का , महेश त्रिपाठी , सुपुष्पा भट्ट , नव नायक प्रतीक श्रेष्ठ रहेका छन् । क्राइम थ्रिलर भनिएको फिल्ममा स्वस्तिमा लिड रोलमा छिन् । ‘फिल्मको कथाले नै मलाइ तानेको हो’ स्वस्तिमाले भनिन् ‘यो झनै थ्रिलर छ र क्राइम स्टोरी हो ।’ चपली हाइटको नाम आउने वितिकै सोचिने ग्लामर यसपटक नरहेको स्वस्तिमाको भनाइले पुष्टी गरेको थियो ।

निर्देशक खड्काले पनि नाम त्यहि रहेपनि कथा बेग्लै रहेको बताए । ‘हामीले थ्रिलको थिम पनि सापटी लिएका छौ तर कथावस्तु भिन्न हुनेछ’ निकेश भन्छन् ‘फिल्मको पात्र सुहाउँदो कलाकार छनौट गरेका छौ , आश छ सिरिजको साख बचाउन सफल हुनेछौ ।’ फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गर्नेछन् ।

गत वर्ष ‘रणवीर’ मार्फत उदाएकी सुपुष्पाले पनि कथा र क्यारेक्टर मन परेकै कारण फिल्ममा आएको बताइन । ‘मैले अगाडी गरेको फिल्म भन्दा भिन्न छ त्यसैले पनि यसमा छु’ उनले भनिन् । फिल्म आउँदो कार्तिकको तेस्रो साताबाट छायाँकनमा जानेछ ।

Facebook Comments