‘सुम्निमा’मा जोडिए अनुप

फिल्म । निर्देशक मिलन चाम्सको प्रेमकथामा आधारित फिल्म ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । यो फिल्ममार्फत चाम्स र शाहीको चौथो सहकार्य हो । यसअघि उनीहरूले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’मा सँगै काम गरिसकेका छन् ।

‘लिली बिली’पछि सात वर्षमा उनीहरू पुनः सहकार्यमा जुटेका छन् । अनुप विक्रम शाहीले ‘सुम्निमा’मा आफ्नो करिअरकै नयाँ र फरक चरित्र निर्वाह गर्ने बताएका छन्, जसका लागि उनी तयारीमा छन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्म नारीप्रधान जस्तो लागे पनि विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले बताए । फिल्ममा उपासना सिंह ठकुरी र कुन्साङ बमजन मुख्य अभिनेत्री र अभिनेताको रूपमा अनुबन्धित छन् । अन्य कलाकार र प्राविधिक टोली अनुबन्धित भइसकेता पनि निर्माण पक्षले योजनाबद्ध रुपमा आफ्नो कलाकार र प्राविधिकसँग परिचय गराईरहेको छ ।

राजीव थापाको लेखनमा बन्ने फिल्मको छायांकन अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ । ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय बजार लक्षित गरी निर्माण गरिने चाम्सले बताए ।

कमेन्ट गर्नुहोस्