फिल्म । प्रदीप खड्का पछिल्लो समय अभिनय सिकिरहेका छन् । फिल्म ‘प्रेमगीत’ पछि ‘स्टार’ बनेका प्रदीपले अभिनय मार्फत दर्शकको मन जित्न सकेका छैनन् । प्रदीप अभिनित फिल्मको गीतसंगीत मात्र दर्शक माँझ स्थापित हुँदा उनि आउने दिनमा अभिनयमा बलियो उपस्थिति देखाउने तयारीमा छन् । लुक्सको कारण रुचाइएको र गीतकै कारण फिल्म हेर्न दर्शक हलसम्म आएको आरोप विशेषत फिल्म समिक्षक मार्फत खेप्दै आएका प्रदीपले अभिनेता तथा निर्देशक अनुप बरालसँग अभिनय बारे ज्ञान लिईरहेका छन् ।
फिल्म ‘रोज’ मा केहि फरक गर्न खोज्दा पनि उनले जस पाएनन् । त्यसैले पछिल्लो समय उनि बलियो क्यारेक्टर भएको फिल्ममा देखिन चाहन्छन् । पोखराको एक रिसोर्टमा रंगकर्मी बरालले प्रदीप अभिनय सिकाइरहेका छन् । तीन महिने प्रशिक्षणमा रहेका प्रदीपले अहिले दैनिक ६ घण्टाको क्लास लिईरहेका छन् । दिनेश राउत निर्देशित फिल्ममा देखिने तयारीकै बीच अभिनयको प्रशिक्षण समेत लिनुले कतै उनि यसपटक फरक भूमिका त गर्दैछैनन् भन्ने चर्चा पनि चल्न थालेको छ । जे होस् , उनको अभिनयमा निखारता आएमा ‘सुनमा सुगन्ध’ पक्कै हुनेछ ।