फिल्म। चलचित्र निर्देशकहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएकाछन्। शनिवार काठमाडौंमा सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको लागि अध्यक्षमै सुचित्रा श्रेष्ठले दिनुभएको उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान महासचिव पराजुली निर्विरोध निर्वाचित भएका हुन्। पन्ध्र सदस्यीय कार्यसमितिको लागि भएको निर्वाचनमा सम्पूर्ण पद निर्विरोध हुँदा सह-सदस्यमा भने मतदान भएको थियो।
‘संस्थालाई बैद्धिक र सिर्जनात्मक ढंगले अगाडि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने लगायतका एजेण्डा पुरा गर्नेछु’, नव निर्वाचित अध्यक्ष पराजुलीले भन्नुभयो। कार्यसमितिमा उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान,सचिवमा देवेन्द्र पाण्डे,कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा राज बस्न्यात निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै, सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनमा दुई सह- सदस्यका लागि तीन जनाको परेको उम्मेदवारीमा कसैले फिर्ता नलिएपछि मतदान भएको थियो। जहाँ सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए।












