फिल्म । डेब्यु फिल्मबाट नै साम्राज्ञी आरएल शाहलाई बोल्ड एक्ट्रेसको रुपमा हेर्ने गरिन्छ । नयाँ जेनेरेशनको एक्ट्रेस भएकोले पनि उनमा ग्लामर छ । उनि अभिनिफ फिल्मले पनि यसलाई प्रस्ट्याउछ । तर साम्राज्ञीलाई बोल्ड मात्र देखिने मन छैन । नयाँ फिल्म ‘रातो टिका निधारमा’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उनले आफुले अहिलेसम्मकै सशक्त रोल पाएको बताइन ।
‘मलाइ बोल्ड र ब्युटीफुल मात्र भनेर कमेन्ट गर्नु हुन्छ मलाइ पनि केहि खास देखिनु मन छ’ उनले भनिन् ‘यस फिल्ममा मैले अहिलेसम्मकै दमदार रोल पाएकी छु , जुन महिलामा केन्द्रित छ ।’ उनले ‘ओके’ भन्नु कै कारण पनि महिलाप्रधान कथामा आधारित फिल्म भएकोले नै हो । फिल्मका निर्माता तथा निर्देशक अशोक शर्माको स्टोरी टेलीङमै चित्त बुझाएकी साम्राज्ञीले फिल्म राम्रो बन्नेमा आश्वादी रहेको बताइन ।
यसफिल्ममा उनले गाउँले भूमिकामा प्रस्तुत हुँदैछिन् । ‘यसबाट मैले अरु क्यारेक्टर पनि गर्न सक्छु भन्ने प्रस्टिनेछ , जुन हरेक कलाकारको सपना हुन्छ’ उनले भनिन् । अशोकका छोरा अंकित शर्मा यो फिल्मबाट डेब्यु गर्दैछन् । फिल्ममा अंकितको अपोजिटमा एक्ट्रेस साम्राज्ञी आरएल शाह रहनेछिन् । किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ ।
पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यही जेठ १० गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्म ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि-एरेञ्ज गरिएको छ । फिल्मको छायांकन नै गीतबाट सुरु हुने जानकारी समेत गराइयो । गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् भने यसलाई पहिलेकै संगीतकार शम्भुजित बास्कोटाले तयार पारेका हुन् ।
यसमा शम्भुजितसँगै कल्याण सिंहको संगीत रहने छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।
तस्वीरहरु : आर्यन विमली


