फिल्म । नेपाली फिल्म ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि यसका निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्। फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन्। पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताएका छन्। विश्वव्यापी प्रदर्शनका क्रममा चलचित्रको विशेष प्रदर्शनीसँगै दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको साङ्गीतिक कार्यक्रमसमेत सँगसँगै आयोजना हुनेछ।
सार्वजनिक गरिएको प्रदर्शन तालिकाअनुसार अमेरिकाको बोस्टनमा जुन ५ तारिख र न्यु ह्याम्पसायरमा जुन ६ तारिखमा फिल्म प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम हुनेछ। त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा प्रदर्शन गरिनेछ। यसै गरी, जुलाई ४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा फिल्मको ‘रेड कार्पेट प्रिमियर’ भव्य रूपमा आयोजना हुनेछ भने अस्ट्रेलियाका अन्य सहरहरूमा पनि प्रदर्शनलाई निरन्तरता दिइनेछ। साथै, युरोपका विभिन्न मुलुकहरूमा समेत फिल्म रिलिज हुने र सो रिलिज तथा साङ्गीतिक कार्यक्रममा ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली तथा अन्य कलाकारहरूको समेत सहभागिता रहने जनाइएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। यसको कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रको डायस्पोरा प्रदर्शनले त्यहाँ रहेका नेपाली चलचित्र प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यसमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन्।










