फिल्म । नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सम्पन्न भएको छ । चैत २ गतेदेखि सुरु भएको फिल्मको छायांकन ६६ दिनमा सकिएको निर्माण टिमले जनाएको छ । छायांकन सम्पन्न भएको अवसरमा निर्माण टिमले ‘इन्ड क्ल्याप’ लेखिएको केक काटेर खुशीयाली मनाएको थियो ।
फिल्मका निर्देशक वसन्त निरौलाले छायांकनका क्रममा कुनै पनि पक्षमा सम्झौता नगरेको बताए । उनले भने, ‘हामीले ६६ दिन लगाएर सक्यौं । यो फिल्मको निर्माणमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौं, जुन पर्दामा पनि देखिनेछ ।’
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन् । त्यसैगरी फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
फिल्मका लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । उनले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको बताए ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गत वर्ष लाज शरणम् निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। फिल्मका अधिकांश दृश्य झापाका रमणीय तथा महत्वपूर्ण स्थानमा छायांकन गरिएको छ। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरेका छन् ।












