‘लालीबजार’ हेर्दा रसाए दर्शकको आँखा

फिल्म । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले मन पराएका छन् । प्रिमियरमा फिल्म हेर्ने बादी समुदायका अभियन्ताले तारिफ गरेको फिल्मलाई दर्शकले मन मन पराएका छन् । फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्री लगायतको टिम काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।

स-परिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिदै गर्दा रुँदै बाहिरिएका छन् । फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ । पहिलो दिन झैँ निर्माण टिम दोस्रो दिन शनिवार पनि उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले दिएको माया र प्रक्रियाले आफू उत्साहित भएको बताइन । उनले भनिन्, ‘हामीले फिल्ममार्फत जे भन्न खोजेका थियौँ, र देखाउन खोजेका थियौँ त्यसलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन् । फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ । म मात्र नभई सम्पूर्ण टिम नै दर्शकको प्रतिक्रियाले उत्साहित छौँ ।’

अभिनेत्री खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनय’ गरेको भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ कै पात्रको नामले दर्शकले उनलाई हलमा बोलाए । डेब्यु फिल्ममै दर्शकको मायाले आफू उत्साहित र दंग रहेको अभिनेता विशालले बताए ।

‘पहिलो काममा पाइरहेको प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सकिरहेको छैन । मैले मेरो पात्रलाई सक्दो जीवन्त बनाउन कोसिस गरेको थिएँ, अहिले पाएको प्रतिक्रियाले त्यो मेहनतको फल प्राप्त भए झैँ लागेको छ । अहिले म हल पुगिरहेको छु, दर्शक भेटिरहेको छु, यो समयलाई म शब्दमा व्यक्त गर्न सक्दिन’, उनले भने ।

डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिईरहेको बताइन । जेनजी अभियन्ताकी रुपमा चिनिकिए कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘मेरो उमेरका दर्शक पनि हलमा उत्तिकै पाएकी छु, परिवार नै फिल्म हेर्न आइरहनुभएको छ । पहिलो फिल्ममै मैले दर्शक र फिल्मकर्मीबाट पाएको माया र प्रतिक्रियाले मलाई झनै हौसला थपेको छ’, उनले भनिन् ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले स-परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन-जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ ।

कमेन्ट गर्नुहोस्