फिल्म । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ (अंग्रेजी नाम: ‘पूजा, सर’) फ्रान्सका ६२ हलमा एकसाथ रिलिज भएको छ । ‘भेनिस फिल्म फेस्टिभल २०२४’ मा वर्ल्ड प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रियबजारमा ठूलो चर्चा कमाएको छ । फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलो अवसर हो ।
फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्म प्रदर्शनको जिम्मा लिएको छ । एआरपी सेलेक्सनकी मिशेल हाल्बस्र्टाडले भनेकी छन्, ‘पूजा, सर रहस्य, संस्कृति र मनमोहक दृश्यले भरिएको फिल्म हो, जसले दर्शकलाई सिधै आफ्नो कथामा डुबाउँछ। हामी फ्रान्सेली दर्शकलाई यो फिल्म प्रस्तुत गर्न उत्साहित छौं ।’
फ्रान्सेली मिडियाले पनि फिल्मको खुलेर प्रशंसा गरेका छन् । यो फिल्म मे २०२५ मा स्विट्जरल्यान्डका पाँच सहरमा रिलिज भएको थियो र तीन महिनापछि पनि प्रदर्शनमा छ । निर्देशक रौनियारका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड वितरण अधिकार मेलबर्नस्थित स्क्रिनएक्सकोपलाई बिक्री भएको छ । फिल्मको ब्याकग्राउन्ड स्कोर स्पोटिफाई, अमेजन प्राइम, युट्युबलगायतका प्लेटफर्ममार्फत २ सय ४३ देशमा रिलिज भएको छ ।
हङकङ र लन्डनस्थित ‘प्लाजा मेयर कम्पनी’ले अर्काड सोनी म्युजिकमार्फत यो धुन रिलिज गरेको हो ।‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा र गौमाया गुरुङको अभिनय छ ।
आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजरको सहकार्यमा बनेको यो फिल्म भेनिसपछि बुसान, सिड्नी, टालिन बाल्क नाइट्स र गोथेनबर्ग फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । फिल्मले नेदरल्यान्ड्समा ‘फ्रि टु बी मी’ अवार्ड जितेको छ । नोभेम्बर २०२५ देखि अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियामार्फत एयरलाइन्समा रिलिज हुँदैछ।










