‘जीवनसाथी नपाएपनि मलाइ बुझ्ने साथी पाएकी छु’

फिल्म । नेपाली फिल्मनगरीमा लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् , दीपा श्री निरौला । अभिनेत्री हुँदै निर्देशनमा आएकी दीपाले ‘६ एकान ६’ मार्फत निर्देशनमा पाइला टेकिन् । डेब्यु फिल्ममै उनलाई सफल निर्देशकको ट्याग लाग्यो । त्यसपछि वडा नम्बर ६ , छक्का पञ्जा , छक्का पञ्जा २ र छक्का पञ्जा ३ ले पनि सफलताको रेकर्ड बनाउदै गए । नेपाली फिल्मको बजार औल्याउने श्रेय पनि दीपा सहितको दीपक राज गिरी , जितु नेपाल , केदार घिमिरे लगायतको टिमलाई जान्छ ।

विक्रम संवत २०५४ सालमा पहिलो पटक फिल्मको लागि अभिनय गरेकी दीपालाई पहिचान भने गाउँले फिल्ममा समावेश गीत ‘गोलि सिसाको’ ले दिलायो । उक्त गीतमा राजेश हमालसँग नृत्य गरेकी दीपाले राम्रो चर्चा बटुलिन । विक्रम संवत २०५५ साल तिर ‘गाउँले’ रिलिज भएको थियो । आफ्नो करियरलाई विस्तारै यसै क्षेत्रमा देख्न थालेकी दीपाले यो सफलता सजिलै भने पाएकी हैनन् ।

विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमान्डौमा धेरै स्ट्रगल गरिन् । विक्रम संवत २०५० साल तिर उनको भेट दीपकसँग भएको हो । रेडियो नेपालमा कामको लागि पुगेकी दीपाले त्यहीँ प्राङ्गण दीपकलाइ पहिलो पटक भेटेकी थिइन् । त्यसपछि यी दुइले सहकार्यको सुरुवात गरे । ‘दीपकलाई धनिया क्यारेक्टर चाहिएको रहेछ र म तराइको भएकोले उसले काम गर्न अफर गर्यो र हामीले सहकार्यको सुरुवात गर्यौं’ दीपाले भनिन् ।

त्यहिँ सहकार्यले तीतोसत्य हुँदै फिल्मसम्म निरन्तरता पायो । र ,देखिएका सपनालाई पुरा गर्दै अगाडी बढिरहेको छ । तर , पनि चाडवाडमा दीपाले आफुलाई कहिले काही एक्लो महसुस गर्छिन् । ‘चाडवाडमा सबै परिवारसँग हुन्छन् त म एक्लै हुन्छु त्यसैले आम मान्छे झैँ मलाइ पनि फिल हुनु स्वाभाविक नै हो’ दीपाले भनिन् । तर , पछिल्लो समय उनले आफ्नो जिम्मेवारीलाई अगाडी बढाएकी छिन् । दर्शकको विश्वासले गर्दा उनि अझै बढी मेहनती भएकी छिन् ।

किन एक्लै छिन् त ? उनि भन्छिन् ,’सायद म करियरमा बढी फोकस भए । प्रेम पनि बसेको थियो तर मैले त्यो समयमा करियरलाइ नै रोजे । किनकी सानै देखि मलाइ अभिनय गर्छु भन्ने लागेको थियो ।’ उनको पहिलो प्रेम त बस्यो तर करियर बाधक बन्यो । किनकी उनि फिल्मनगरीमा आफुलाई देख्न चाहन्थिन तर उनको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाइ प्रयास गर्न देउ भनेकी थिए । किनकी म आफ्नो सपनालाई एक पटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर , उसले मलाइ १/२ वर्ष पनि कुर्न सक्नु भएन । उहाँको आफ्नै बाध्यता थियो भने मेरो आफ्नै’ दीपाले भनिन् ।

उनले प्रेमीसँग केहि समय मागेकी थिइन् तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमावुवा विरामी लगायतका दायित्वका कारण त्यतिवेला जोडी सम्भव नभएको दीपाको भनाइछ । तर , पनि पहिलो प्रेम अझै उनलाई याद छ । ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुराकानी हुन्छ तर भेटघाट हुदैन’ उनले भनिन् । भेटघाटले सामिप्यता बढाउने भएकोले त्यसो नगरेको उनको भनाइ छ ।

उनले विवाह नगर्ने मनसाय बनाएकी हैनन् , तर जुरेको छैन । ‘मेरो परिवारलाइ पनि मेरो विवाह हेर्ने रहर छ तर हेरौ कहिले हुन्छ भन्न सकिन्न’ उनले भनिन् । उनले दायित्व नभएकै कारण सफलता सम्भव भएको पनि बताउछिन् । उनलाई लाग्छ उनले आफ्नो लगनशीलतामा सात प्रतिशत दिन पाएकी छिन् । उनि भन्छिन, ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । मैले अरु केहि सोच्नु परेको छैन , त्यसैले मेहनतको सफलता पाएकी छु ।’

जीवन साथी नपाए पनि उनले आफुलाई माया गर्ने साथी पाएकी छिन् । जोसँगको सहकार्यले उनले आफ्नो सपनालाई मुर्तरुप दिन सफल भएकी छिन् । ‘हाम्रो बीचमा माया छ , तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ , अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने सम्भव भएन तर हाम्रो मित्रता निकै माथि छ’ दीपाले भनिन् । उनले दीपक निकै मेहनती रहेको भन्दै प्रसंशा गरिन् । (इभिनिङ ग विथ नरेशमा गरिएको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्