पूर्वमा कप्तान सुब्बालाई भव्य स्वागत

फिल्म । नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई पूर्वमा भव्य स्वागत गरिएको छ । आफ्नो जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न आइपुगेका दर्शकसँग साक्षात्कार गर्न पुगेकी कप्तान सुब्बालाई दर्शक, प्रदर्शकसँगै स्थानीय फुटवल क्लब र खेलाडीले भव्य स्वागत गरेका हुन् ।

शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी कप्तान सुब्बाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । सोही दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औँ गोधुली फुटबल कपमा पनि सहभागी भइन् ।

धरानमा दर्शकहरूसँग भेट्दै उनले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताइन् । कप्तान सुब्बाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडा स्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको उल्लेख गरिन् ।

धरान फुटबल क्लबले कप्तान सुब्बा र चलचित्रका निर्माता तथा उनको गडफादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताए । उक्त भ्रमणमा फिल्ममा कप्तान सुब्बाको आमाको भूमिका निर्वाह गरेकी कलाकार सिर्जना सुब्बा समेत सहभागी छिन् ।

कप्तान सुब्बा आइतबार पनि पूर्वी नेपालमै रहनेछिन् । निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा कप्तान सुब्बालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।

हाल कप्तान सुब्बा ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट व्यवसायिक खेल खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

यसमा कप्तान सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्