‘आ बाट आमा २’ को पोस्टरमा देखिए आकाश

फिल्म । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो। विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्मको पोस्टरमा दसैँको माहोल झल्काइएको छ।

पोस्टरमा फिल्मका मुख्य अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको जस्तो देखाइएको छ। त्यस्तै, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल र मलिका महतलाई भावुक अवस्थामा प्रस्तुत गरिएको छ।

पोस्टरको दायाँतर्फ बुबाको भूमिकामा रहेका प्रदीप रावत स्कुटरमा कतै जाँदै गरेको देखिन्छन् भने बायाँतर्फका पात्र कसैको खोजीमा रहेको देखिन्छ। पोस्टरमा ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’लाई फिल्मको मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, पोस्टरमा उल्लेख गरिएको ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्’ भन्ने संवादले फिल्मको भावनात्मक पक्षलाई संकेत गरेको छ। पोस्टरमा केही मानिस ढुंगा तर्दै गरेको दृश्यसमेत देखाइएको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मको पोस्टरले कथावस्तुबारे केही संकेत गरेको निर्माण पक्षको दाबी छ। फिल्मको थप कथा सोमबार सार्वजनिक हुने टिजरमार्फत खुल्नेछ।

आर्या पन्तको प्रस्तुति रहेको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मका लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद रोशन भट्टले लेखेका छन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्।

नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।

कमेन्ट गर्नुहोस्