मोफसलमा ‘परदेशी २’ टिम

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म‘परदेशी २’लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । काठमाडौंसहित देशभरका हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएता पनि निर्माण पक्षले मोफसलका दर्शकसँग बसेर फिल्म हेर्ने भएको छ । मोफसलमा प्रचारप्रसारलाई तिब्रता दिएको निर्माण समुहले दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिनुका साथै फिल्म हेर्ने भएको छ । अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका केही सहरका हल हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने भयेया छन् ।

मोफसलका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् । आइतवार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् । प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुगेका छन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिएपछि उनीहरू बुटवलका हलमा पुग्दैछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् ।

दर्शकबाट ‘परदेशी २’ले सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ ।

अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई फिल्ममा देखाइएको छ । विदेशमा रहँदा एकातर्फ देशको सम्झनाले सताउने, अर्कोतर्फ सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडाको समसामयिक कथालाई फिल्ममा मर्मस्पर्शी तरिकाले सरल रुपमा प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्