फिल्म । टि–२० विश्वकप छनौट प्रतियोगितामा ‘म्यान अफ द म्याच’ बन्ने र टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको चलचित्र ‘दिमाग खराब’ले घोषणा अनुरुप पहिलो दिन पुरस्कार प्रदान गरेको छ । पहिलो दिन सिंगापुरलाई ८ विकेटले हराएको नेपालका लागि कुशल भुर्तेलले ७४ रनको पारी खेलेका थिए । यही पारीका कारण ‘म्यान अफ म्याच’ घोषित कुशल भुर्तेलले ‘दिमाग खराब म्यान अफ दी म्याच’ अवार्ड प्राप्त गरेका छन् । सो वापत् उनले ५० हजार नगद हात पारे । उनलाई निर्माता रौनक विक्रम कँडेलले नगद हस्तान्तरण गरेका थिए
पुरस्कार रकम चलचित्रको टिमले प्रदान गर्ने भए पनि यसको निर्णय गर्ने अधिकार भने नेपाल क्रिकेट एसोसिएसनलाई दिइएको थियो । सो अनुरुप खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ को पुरस्कार पनि कुशललाई नै प्रदान गरिएको छ । यसको रकम १० हजार रहेको थियो ।
चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदैछ । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म सामाजिक विषयमा केन्द्रीत छ ।
रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।












