फिल्म । प्रभासको अभिनय रहने पुलिस ड्रामा फिल्म ‘स्प्रिट’ मा ठूलो परिवर्तन भएको छ । अभिनेत्री दीपिका पादुकोणले यो प्रोजेक्ट छाडेकी छिन् र उनको स्थानमा अभिनेत्री तृप्ति दिमरी अनुबन्धित भएकी छिन् । तेलुगु सञ्चारमाध्यमका अनुसार, निर्देशक सन्दीप रेड्डी वङ्गासँगको मतभेदका कारण दीपिकाले यो ठूलो बजेटको फिल्म छाडेकी हुन् ।
गत साता दीपिकालाई प्रभासको अपोजिटमा अनुबन्धित गरिएको खबर सार्वजनिक भएको थियो। तर, तेलुगु मिडिया रिपोर्टहरूका अनुसार, दीपिकाले राखेका केही ‘अव्यवसायिक माग’ का कारण निर्देशक वङ्गा असन्तुष्ट भए । दीपिकाले ४० करोड भारतीय रुपैयाँ पारिश्रमिकसहित मुनाफाको हिस्सा, दैनिक ६ घण्टा मात्र छायांकन र तेलुगु संवाद नबोल्ने जस्ता सर्त राखेको बताइन्छ । यी मागमा सहमति नभएपछि दीपिकालाई प्रोजेक्टबाट हटाइएको स्रोतहरूले जनाएका छन् । सोही कारण निर्माण पक्षले तृप्तिलाई लिड हिरोइन बनाउने निर्णय गरेको छ ।
निर्देशक वङ्गाले दीपिकाको ठाउँमा ‘एनिमल’ फेम अभिनेत्री तृप्तिलाई छनोट गरेका छन् । तृप्तिको कास्टिङले सामाजिक सञ्जालमा व्यापक चर्चा र उत्साह पैदा गरेको छ । ‘एनिमल’ मा उनको अभिनयले दर्शक र समीक्षकहरूको मन जितेको थियो र अब ‘स्प्रिट’ मा प्रभाससँग उनको जोडीले उनको करियरमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।
‘स्प्रिट’ टि-सिरिजको ब्यानरमा भुषण कुमारद्वारा निर्मित छ र सन्दीप रेड्डी वङ्गाले निर्देशन गर्दैछन् । यो फिल्मको छायांकन आगामी अक्टोबरबाट सुरु हुने तयारी छ । निर्देशक वङ्गाको पछिल्लो फिल्म ‘एनिमल’ बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो भने प्रभासको ‘कल्की २८९८ एडी’ ले पनि बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो ।












