संगीत । अभिनेता राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक भएको छ । शुक्रवार काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो रिलीज गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् । गोविन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यसगीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन् ।
गीत रिलीज कार्यक्रममा बोल्दै अभिनेता हमालले आफु गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । विद्यालय जीवन सम्झँदै हमालले भने, ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै बरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । छ कक्षा पढ्ने बेलासम्म उहाले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । १० कक्षा पुग्ने बेला सम्ममा चाहिँ खै के भयो स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरेको थिईन । अहिले आएर गीत गाउने प्रयास गरेको हुँ ।’ हमालले यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको प्रष्ट पारे ।
हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफुले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए । ‘कुनै नराम्रो शहरमा पनि केहि न केहि सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केहि पनि छैन । परिवारसँग समय बिताउने स्तरिय स्थान समेत छैन । यसतर्फ कसैको ध्यानसमेत छैन । केहि न केहि त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ’, हमालले प्रष्ट्याए । कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो ।