मोफसलमा ‘परदेशी २’

फिल्म । आगामी असोज २६ गतेदेखि प्रदर्शन हुने नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ मोफसल भ्रमणमा रहेका छन् । काठमाडौँ अघि मोफसलका दर्शकलाई प्रत्यक्ष भेटेर साक्षात्कारसँगै प्रचारप्रसार गरिरहेको निर्माण टिमले चितवनको नारायणगढमा प्रचारप्रसार गरेको छ । युवापुस्ता विदेशिने परिस्थिति र त्यहाँ भोग्ने कथामा रहेर फिल्म तयार गरेकाले उनीहरुबाट प्रचार आरम्भ गरिएको निर्देशक रायमाझीले जानकारी दिए ।

‘हामीले फिल्मको कथासारलाई नाटकमार्फत प्रस्तुत गरेका थियौँ । युवाको गन्तव्य बनिरहेको प्रवासको भोगाई र जीवनलाई फिल्ममा उतारेका छौं’, निर्देशक रायमाझीले भने । उनले असोज १२ गतेसम्म मोफसलका विभिन्न शहरहरुमा फिल्मको भ्रमण जारी रहने जानकारी दिए । प्रचारप्रसारमा निर्देशक रायमाझीसँगै अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी सहभागी छन् । दर्शकसँग साक्षात्कार गर्न उनीहरुले आफ्नो कौशलता प्रस्तुत गरिरहेका छन् ।

मोफसल भ्रमण अन्तर्गत फिल्म टिम बुटवल, नेपालगञ्ज र पोखरामा पुग्ने निर्देशक रायमाझीले बताए । ‘परदेशी २’ बाट अभिनय यात्राको सुरुआत गरेका गायक सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेको जानकारी दिए ।

उनले भने,‘गीतसंगीत र फिल्ममा अभिनय गर्नु विल्कुलै फरक हो । यसको टिम क्याप्टेननै सङ्गीत पृष्ठभूमिबाट आउनु भएकोले मैले अभिनयमा पाइला टेकेको हुँ ।’ उनले विदेशिने विद्यार्थीको भूमिकामा प्रस्तुत भएको जानकारी दिदै परदेश हुदाँ घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई पर्दामा चित्रण गरिएको बताए । अभिनेत्री अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष गीत र कथा नै रहेको बताइन् ।

फिल्ममा उल्लेखित कलाकारसँगै नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतले समेत अभिनय गरेका छन् । गीतकार रमेश विजीको कथा लेखन रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्