फिल्म । अभिनेता सुशील सिटौला फिल्म ‘महाराजधिराज’ मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन् । निर्माण पक्षका अनुसार सिटौलालाई फिल्ममा मुख्य भूमिकामध्ये एकमा देख्न सकिनेछ। उनलाई नेपाली फिल्म क्षेत्रमा प्रतिभाशाली तर कम चर्चित (अन्डररेटेड) अभिनेताका रूपमा लिइन्छ।
कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुगेसँगै फिल्मको कलाकार सूची थप बलियो बन्दै गएको निर्माण टिमले जनाएको छ। यसअघि नै फिल्मको मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन्। पिरियड ड्रामाको झल्को दिने यस फिल्मको छायांकन वैशाख दोस्रो सातापछि सुरु गर्ने तयारी गरिएको छ।
परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको ‘महाराजधिराज’मा थप ८० कलाकार रहने बताइएको छ। पुराना र नयाँ पुस्ताका कलाकारको मिश्रण प्रस्तुत गर्ने उद्देश्यसहित बलियो स्टारकास्ट तयार गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्मका प्रस्तुतकर्ता विराज विष्टले कलाकारको सशक्त लाइनअपअनुसार फिल्म पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानमा छायांकन गरिनेछ। फिल्मको छायांकन नवराज थापाले गर्नेछन्। निर्देशक परिच्छेद सेनले नै फिल्मको कथा लेखेका हुन्।











