‘पर्खी बसें तिमी’ हेर्नेको रसाए आँखा

फिल्म । नेपाली फिल्म ‘पर्खी बसें तिमीलाई’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा शुक्रबार आयोजित विशेष शोमा सहभागीहरुले धेरै समयपछि प्रेम कथानक फिल्म हेर्न पाइएकोमा खुसी व्यक्त गरेका छन् । निर्माता तथा निर्देशक आकाश अधिकारी र निर्देशक नवल नेपालले फिल्म स परिवार हेर्ने मिल्ने बनेको प्रतिक्रिया दिए । उनीहरूले डेब्यु कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीले यस क्षेत्रमा भविष्य उज्वल देखाएको प्रतिक्रिया दिए ।

पछिल्लो समय ड्रामा र एक्सन फिल्म हेर्दै आएकोमा प्रेम कथामा आधारित रहेको ‘पर्खी बसें तिमीलाई’ हेर्न पाउँदा खुसी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

अभिनेता शिव श्रेष्ठले नयाँ पुस्ताको कलाकारहरूबाट आफू प्रभावित भएको बताए। उनले डेब्यु कलाकारसँगै निर्देशक श्रेष्ठको प्रसंशा गरे । ‘फिल्म हेर्दा आँखा त रसाउँछ नै साथै नव कलाकारले गरेको तयारी गज्जब छ । उनीहरूले मलाई पुनः उर्जा थपेका छन्’, अभिनेता श्रेष्ठले भने ।

निर्माता आकाश अधिकारी, निर्देशक नव नेपाल लगायत चलचित्र क्षेत्रसहित विभिन्न विधाका व्यक्ति विशेष शोमा सहभागी भएका थिए । निर्माता तथा निर्देशक अधिकारीले फिल्म उद्योगमा कमि रहेको नयाँ अनुहारलाई किरण र रक्षाले पुरा गर्नेमा विश्वस्त रहेको बताए । उनले भने,‘यस्ता प्रतिभाले अवसर पाएका रहेनछन । उनीहरूलाई पर्दासम्म ल्याउने टिमलाई धन्यवाद । उनीहरूको भविष्य उज्ज्वल छ ।’

उनले स्थापित व्यानरमार्फत नव कलाकारलाई अवसर दिइनु पर्नेमा जोड दिए । दीपक श्रेष्ठको निर्देशन तथा राजाराम बुढाथोकीको निर्माणमा ‘पर्खि बसेँ तिमीलाई’ शुक्रबारबाट प्रदर्शनमा आएको हो । निर्देशक श्रेष्ठले प्राप्त प्रतिक्रियाले आफू उत्साहित रहेको बताए ।

‘मैले देखाउन खोजेको कथा पर्दामार्फत दर्शकको मनसम्म पुगेको छ । युवापुस्ताको प्रेमलाई दर्शकले पनि रुचाउनु भएको छ’, निर्देशक श्रेष्ठले भने,‘अहिले फिल्म हेरिसकेकोले तारिफ गरिरहेका छन् । हामीलाई राम्रा प्रतिकिया प्राप्त भइरहेको छ । युवापुस्ताले प्रेम कथालाई रिलेट गर्नुभएको छ ।’

फिल्म टिमले माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् । डेब्यु फिल्ममै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

तस्बिर : सुरेन्द्र थापा

कमेन्ट गर्नुहोस्