बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’ बाट निष्काशित भए सागार

फिल्म । हास्य कलाकार सागर लम्साल (बले) लाई फिल्म ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ । शुक्रबार अमेरिकामा रहेकी एक युवतीले लम्सालले आफूमाथि बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले उनलाई फिल्मबाट हटाएको हो । निर्माता कम्पनी कालीरानी फिल्म्सले विज्ञप्ति जारी गर्दै अब अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गरिने जनाएको छ ।

विज्ञप्तिअनुसार सागरका करिब ९० प्रतिशत दृश्य खिचिसकिएको भए पनि अब उनी फिल्मको हिस्सा नहुने र उनी संलग्न दृश्यहरू प्रयोग नगरिने बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘छायांकनकै क्रममा एक मुख्य कलाकारलाई हटाउनुपर्दा र खिचिएका दृश्यहरू पुनः छायांकन गर्नुपर्दा आर्थिक क्षति हुनु स्वाभाविक हो । तर, पीडित युवतीको पीडाका अघि हाम्रो यो क्षतिले कुनै मान्यता राख्दैन ।’

‘पाँच पाण्डव’ जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भई समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सागरसँगको सम्झौता रद्द गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । निर्माण पक्षले घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने धारणा राखेको छ ।

वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको यस फिल्मको छायांकन विगत तीन सातादेखि झापामा भइरहेको छ । सागरलाई हटाइएसँगै फिल्मको पुनः छायांकन गर्नुपर्ने भएको छ भने उनको स्थानमा अर्को कलाकार चयन गर्ने प्रक्रिया निर्माण टिमले अघि बढाइसकेको जनाएको छ । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायत कलाकारको अभिनय रहनेछ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने यसका लेखक सुशील पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्