फिल्म । मंगलवार राति फिल्म ‘महाभोज’का कलाकार तथा निर्देशकले एकैसाथ सामाजिक सञ्जालमा ‘सत्य कहिल्यै लुक्दैन’ भन्दै गरेको पोस्ट गरे । जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्देशक दिनेश राउतसहित प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले मध्यरातमा उक्त अर्थपूर्ण वाक्यांश पोस्ट गरेपछि विभिन्न अड्कलबाजी सुरु भएका छन्।
यो पोस्ट फिल्मको प्रचारको नयाँ शैली हो वा यसले कुनै गम्भीर विषयतर्फ संकेत गरिरहेको छ भन्नेमा अहिले चर्चा चुलिएको छ । सहकारी ठगीको विषयमा कथा बुनिएको ‘महाभोज’ले समाजको यथार्थ चित्रण गर्ने बताइएको छ ।
‘नेपालमा आर्थिक क्रान्तिको सपना बोकेर सहकारीहरू स्थापना भए, तर त्यसकै पहुँचमा रहेका केही व्यक्तिले सर्वसाधारणको गाढा पसिनाको पैसा लुटे। ‘महाभोज’ त केवल फिल्म होइन, एक यथार्थ प्रश्न हो’, अभिनेता राईले भनेका छन् ।
‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा अभिव्यक्तिलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताका रूपमा पनि व्याख्या गरेका छन् । फिल्मको कथावस्तु कतै यति संवेदनशील त छैन, जसले ठूला भनिएका व्यक्ति वा संस्थाहरूको वास्तविकतालाई पर्दाफास गर्ने हो कि भन्ने प्रश्न पनि उब्जिएको छ । कलाकारहरूको पोस्टमा कसैको नाम वा आरोप स्पष्ट रूपमा उल्लेख नगरिए पनि वाक्यांश आफैँमा निकै अर्थपूर्ण रहेको विश्लेषण भइरहेको छ।
‘महाभोज’को कथा, निर्देशन, कलाकारहरूको प्रस्तुति र उनीहरूका अभिव्यक्तिलाई नियाल्दा यो फिल्मले पर्दामा देखिने कथा मात्र नभई पर्दा पछाडिका लुकाइएका सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको आभास हुन्छ । त्यही सत्य, जसलाई धेरैले दबाउन खोजेको हुन सक्ने अनुमान छ । तर, कलाकारहरूको एकै स्वरले त्यो सत्यलाई बाहिर ल्याउने संकेत दिएको छ ।










