संगीत । नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटा र जुगल डंगोलको संगीत, गीतकार तथा निर्देशक डब्बु क्षत्रीको शब्द रचना र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन् ।
जसमा बजाई देउ बाजा…र पहिलो भेटमा…बोलको गीत रहेको छ । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटक संगीत गरेकोे बताए । यस अघि मेरो जवानी…, लुडो र तास…, कोरोनाले देशै रायो…रातो सारी लरक्कै…जस्ता सिँगल ट्रयाक एल्बम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् ।
गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अबसर जुरेको बताए । अब बासकोटासंग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे । बजाई देउ बाजा लोक पप शैलीको गीत हो । जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो गीत नृत्यप्रधान बनेको छ ।
यसैबीच पहिलो भेटमै…गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।












