फिल्म । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।
निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गमस्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापा मगर आफैले लेखेका हुन् । यसको छायांकन गर्न पुगेको ‘खुस्मा’ टिमलाई मौकोट बासीले भव्य स्वागत गरेका थिए । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए ।
डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् । यसमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन(खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।