संगीत । अभिनेता सरोज खनाल पछिल्लो समय भिडियोमा पनि सक्रिय छन् । केहि समय अगाडी ‘जिन्दगीका पानाहरु’ लाई सार्वजनिक गरेका खनालले अभिनय गरेको भिडियो र निर्देशन गरेको भिडियो पछिल्लो समय सार्वजनिक हुन् थालेका छन् । उनको निर्देशन रहेको गीत ‘बिरोध छैन’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सरला श्रेष्ठले रचना गरेकी छिन ।
गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको बिरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ । कृतिको मिठासपुर्ण संगीतमा रचनाले न्यायपुर्ण स्वर भरेकी छिन् ।
गीतको भिडियोमा मोडलद्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।
यसैबीच रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट जुट्ने सम्पुर्ण ‘रेभिन्यु’ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । गीतकार श्रेष्ठले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्दत गर्दै आइरहेको शारिरिक तथा मानशिक अशक्तहरुको सेवामा खर्चिने प्रतिवद्धता जनाएकी हुन् ।











